
नेपालको नमुना संविधान-२०६६ नाम दिइएको सो संविधानको खाका स्वरुपको पुस्तक संविधानविद् डा. विपीन अधिकारीले लेख्नुभएको र संविधान विशेषज्ञ समूहले प्रकाशन गरेको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सो पुस्तकको विमोचन गर्नुभयो ।
देशमा आजसम्म कायमै रहेको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्यालाई समाधान गर्न राज्यको अग्रगामी पुनःसंरचनालाई संस्थागत गर्दै नेपाली जनतालाई चिरकालपर्यन्त सामाजिक, राजनीतिक एवम् आर्थिक न्याय प्राप्त हुन सकोस् भन्ने सो नमुना संविधानको प्रस्तावनामा उल्लेख छ ।
नेपालको संवैधानिक परम्परा, शासकीय स्वरुप, राज्य सञ्चालनको प्रक्रिया, मानवअधिकार, समावेशी अवधारणाको विषयमा राजनीतिक दल र विचारभन्दा माथि उठेर राष्ट्रहितलाई ध्यानमा राखेर सो खाका तयार गरिएको डा. अधिकारीले बताउनुभयो ।
संविधान विशेषज्ञ समूहका संयोजक डा. सूर्य ढुङ्गेलले संविधान निर्माणमा सघाउ पुर्याउन नागरिक समाजका तर्फबाट विशेषज्ञ समूह गठन गरी सुझावका लागि नमुना संविधान तयार पारिएको जानकारी दिनुभयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले जातीय पहिचान, गुणात्मक जीवनस्तर र देशका प्रत्येक प्रदेशमा नागरिकको सुरक्षा नै संविधान निर्माणको प्रमुख चुनौती भएको धारणा राख्नुभयो ।
Source: http://yubabahas.com/?p=3488
No comments:
Post a Comment